काठमाडौं। चालू आर्थिक वर्षको यो ४ महिनामा ४४ वटा जलविद्युत् आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका छन् । चालू आर्थिक वर्षमा १ हजार ८६६.२ मेगावाट क्षमताका आयोजनाका प्रवद्र्धकले अध्ययन सकेर विद्युत् विकास विभागमा अनुमतिका लागि आवेदन दिएका हुन्।
लाइसेन्सको अवधि गुज्रने खतराले पनि यो वर्ष निर्माण लाइसेन्सको आवेदन बढेको बताइएको छ। विद्युत् खरिद बिक्री सम्झौताको टुङ्गो नलागे पनि अध्ययन तथा अन्य कार्यमा खर्च भइसकेका आयोजना जोगाउनुपर्ने बाध्यता रहेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) ले जनाएको छ।
आवेदन दिनेमा सबैभन्दा ठूलो आयोजना टीबीआई होल्डिङ्स प्रवद्र्धक रहेको छ सय मेगावाटको तामाकोसी–३ रहेको छ । दोलखा र रामेछापमा बनाउने प्रस्ताव गरिएको यो आयोजना निर्माणका लागि गत असोजमा विभागमा आवदेन परेको हो ।
ठूलो क्षमताको प्रस्तावित आयोजनामा बुटवल पावर कम्पनीले मुगु कर्णाली जलविद्युत् आयोजना पनि छ । बीपीसीले यही मङ्सिर २ गते १५९ मेगावाटको सो आयोजना निर्माणका लागि आवेदन गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको रूपा–बेगनास जलाशययुक्त आयोजना पनि छ । प्राधिकरणले सो आयोजनाबाट १५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । ९१ मेगावाटको बूढीगण्डकी नदी आयोजना निर्माणका लागि सूर्य इनर्जी प्रालिले पनि असोजमै आवेदन दिएको छ ।
विद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स लिएको पाँच वर्षभित्र निर्माण अनुमतिका लागि आवेदन दिइसकेको हुनुपर्छ । विभागबाट सर्वेक्षण अनुमति लिएपछि सम्भाव्यता अध्ययन, वातावरणीय अध्ययन उद्योग दर्ता र कनेक्सन एग्रिमेन्ट लिनुपर्छ ।
भारतको खुला बजारमा विद्युत् निर्यात हुन थालेको र निजी क्षेत्रले पनि निर्यात व्यापार गर्न पाउने सरकारी आश्वासनका कारण पछिल्लो समय निजी क्षेत्रले विद्युत् उत्पादनमा चासो बढाउँदै लगेका हुन् ।