काठमाडौं। म्याग्दीमा थलिएका ठूला विकास आयोजनालाई गति दिन निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई ताकेता गर्ने जिल्ला समन्वय समिति म्याग्दीको छैटौँ जिल्ला सभाले निर्देशन गरेको छ। जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा भएको जिल्ला सभामा ठूला आयोजनालाई समयमै सम्पन्न गराउनका लागि निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
यस जिल्लामा ठूला विकास आयोजनालाई समयमै सम्पन्न गराउन स्थानीय तहले समन्वयात्मक भूमिकाबाट अनुगमन, निरीक्षण र सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गर्नुपर्नेमा बेनी नगरपालिकाका मेयरले जोड दिएका थिए। उक्त सभामा धवलागिरी गाउँपालिका अध्यक्ष, अन्नपुर्ण गाउँपालिका उपाध्यक्षले तीन तहको सरकार मिलेर बाढीपहिरो पीडितको घर पुनर्निर्माण समयमा नहुनुमा आलोचना बढेको धारणा राखेएका थिए।
पटक-पटक म्याद थप गरिएका बेनी-जोमसोम सडकको म्याग्दी खण्ड, बेनी-दरवाङ, रत्नेचौर-बेनी, गलेश्वर-पिप्ले-भगवती सडक, पोखरेबगर-चित्रे सडक, राहुघाट जलविद्युत आयोजना, बेनी अस्पतालको निर्माणाधीन भवन, कालिगण्डकी, रघुगंगा र म्याग्दी नदीमा बन्दै गरेको पुल, खानेपानी आयोजनालगायतका पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती हटाउन निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई ताकेता गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख ले जानकारी दिएका छन्।
स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिसस सदस्यहरूको उपस्थितिमा भएको छ्रैटौं जिल्ला सभामा सो निर्णय गरिएको हो। त्यस्तै ठूला विकास आयोजनामा भएको ढिलासुस्तीप्रति निर्माण व्यवसायीले पर्याप्त जनशक्ति, र उपकरण परिचालन नगरेका कारण विकास आयोजना ढिलासुस्ती भएको जिल्ला सभाले निष्कर्ष निकालेको छ। दुखुखोला र स्वाँता खोलाको पुलको संरक्षणमा आवश्यक बजेट विनियोजनका लागि सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण गराउने उक्त सभाले निर्णय गरेको छ।