काठमाडौं। काठमाडौं उपत्यकाभित्रको दोस्रो चरणको चक्रपथ विस्तार गर्ने योजना अलपत्र परेको छ। पाँच वर्षभित्रमा आयोजनाको काम सकिनेगरी सम्झौता भएको उक्त सडकको पहिलो चरणको काम सकिएपनि दोस्रो खण्डमा कलंकीदेखि बसुन्धरा चोकसम्मको सडक विस्तार कार्य हुन सकेको छैन।
चक्रपथको दोस्रो खण्डमा कलंकीदेखि चाबहिलसम्मको सडक विस्तार रहेपनि मुआब्जा विवादका कारण छोट्याएर दोस्रो चरणमा कलंकीदेखि बसुन्धरा चोकसम्म ८.५ किलोमिटर सडक र बसुन्धरा चोकदेखि चाबहिललाई तेस्रो चरणमा राखिएको छ।
यो सडक विस्तारका लागि नेपाल र चीनका बीचमा ३ वर्षअघि सम्झौता भएको थियो। तर हालसम्म यस सडकको विस्तार कार्य सुरु पनि गरिएको छैन। सडक विस्तार नहुँदा दिनप्रति दिन सडक जिर्ण बन्दै गइरहेको छ। अव्यवस्थीत, जीर्ण सडकका कारण प्रदुषण पनि अत्याधिक बढेको छ। सडक विस्तारमा ढिलाइ हुँदा यस क्षेत्रका सवारी साधनले दैनिक घण्टौँ जामको समस्या समेत भोग्न बाध्य छन्।
साइड क्लियर नहुँदा आएन चिनियाँ टोली
आयोजना अन्तर्गतको पहिलो खण्ड कलंकीदेखि कोटेश्वरसम्मको सडक विस्तारका क्रममा साइड क्लियर नभइ काम सुरु गर्दा ढिलाइ भएको चिनियाँ टोलीले औँल्याएको थियो। सोही नियती दोस्रो खण्डमा नदोहोरियोस भनि चिनियाँ टोलीको पहिलो सर्त नै सडक छेउछाउका घरको मुआब्जा, रुख कटान, बिजुलीका पोल व्यवस्थापन लगायत सबै साइड क्लियर होस भन्ने थियो।
सोही अनुरुप नारायणगोपाल चोक र स्वयम्भु बाहेकका स्थानमा साइड क्लियर भइसकेको पत्र नेपालले चीनियाँ टोलीलाई पठाएको थियो। सडक विस्तारका क्षेत्रमा काम गर्न अब कुनै अवरोध नभएको सडक विभागले जनाए पनि चिनियाँ टोलीले भने सत प्रतिशत साइड क्लियर नभएसम्म काम सुरू नगर्ने जवाफ दिने गरेकाे छ।
सडक विस्तार क्षेत्रमा पर्ने महाराजगञ्जका १९ वटा घरबारेमा अझै टुंगो लाग्न सकेकाे छैन। यस क्षेत्रको १९ वटा निजी घर र जग्गा पूरै अधिग्रहण गर्नुपर्ने हुन्छ। अधिग्रहण गर्नका लागि २ अर्ब ७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यस कारण पनि हाललाई दोस्रो चरणमा बसुन्धरा चोकसम्म मात्र विस्तार गर्ने पनि दुरी छोड्याइएको थियो।
तर कलंकीदेखि बसुन्धरासम्मकाे सडक विस्तारका क्षेत्रमा पनि सत प्रतिशत साइड क्लियर हुन सकेकाे छैन। स्वयम्भूदेखि स्युचाटार पुलसम्मको खण्डमा ढलको पाइप भन्दा घरहरु तल पर्ने समस्या देखिएका छन्। चक्रपथ सुधार योजनाका अनुसार पाइप र ठाउँ अनुसार ढलको लेभल मिलाउन गाह्रो भइरहेको छ। योजनाअनुसार ढलको पाइप हाल्दा घर तल पर्न गइ सानो पाइप हाल्दा सडकको पानी र ढल व्यवस्थापन गर्न गाह्रो भएको बताइएको छ।
यसैगरी विभिन्न खण्डमा मेलम्ची खानेपानीका लागि बिच्छ्याइएका पाइप हटाउनुपर्ने तर खानेपानीले सो पाइप नहटाउने भएपछि ढलको पाइप हाल्न समेत कठिन भएको बताइएको छ।
टोखा नगरपालिकामा पर्ने मुक्तेश्वर मन्दिर, खानेपानी र ढलको समस्याका कारण पनि साइड क्लिय हुन सकेको छैन। यो समस्या समाधान गर्न स्थानीय सरकारले पहल गरिरहेको छ।
यसरी सम्पूर्ण सडक विस्तार क्षेत्रमा साइड क्लियर नहुँदा चिनियाँ टोलीले सडक विस्तारमा जाँगर लगाएकाे छैन। चक्रपथ विस्तार आयोजनाबाट नेपालले जति पटक काम सुरु गर्न पत्रचार गरेपनि हरेक पटक चिनियाँ टोलीले ‘साइड क्लियर’ नभएको भन्ने जवाफ दिने गरेको आयोजनाले जनाएको छ।
लागत अनुमान दोब्बर
लागत अनुमान झण्डै दोब्बर बढेकाले पनि चिनियाँ टोलीले काम सुरु गर्नमा ढिलाइ गरेको सडक विभागको भनाइ छ। तीन वर्षअघि नेपाल र चीनबीचमा सडक विस्तारका लागि सम्झौता हुँदा जुन लागत अनुमान गरिएको थियो यो बीचमा उक्त लागतले नपुग्ने भएको छ।
विभिन्न कारणले निर्माण सामाग्री (बिटुमिन, इन्धन लगायत) मा आएको मूल्यवृद्धि लगायतका कारणले लागत अनुमान झण्डै दोब्बरले बढ्ने देखिएको सडक विभागमा महानिर्देशक अर्जुनजंग थापा बताउँछन्। बढेको बजेट पारित गराउन चिनियाँ टोलीले फेरि चीन सरकार तथा अर्थमन्त्रालयसँग छलफल गरी बजेट पारित गराउने प्रक्रियाका कारण पनि चीनले सडक विस्तारमा ढिलाइ गरिरहेको महानिर्देशक थापाको भनाइ छ।
सडक विस्तार ढिलाइमा नेपालकाे पनि कमजोरी
दोस्रो खण्डको चक्रपथ विस्तार कार्यमा ढिलाइ हुनुमा नेपालको आफ्नो पनि कमजोरी रहेको केही पूर्वाधार विज्ञहरु बताउँछन्। नेपालले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न नसक्दा हरेक काममा ढिलाइ हुने गरेको उनीहरुको भनाइ छ। पूर्वाधार विज्ञ राजेन्द्र अधिकारीले के काम कसरी कहिलेसम्म गर्ने भन्ने कुरामा प्राथमिकता नदिने, जे अगाडी देखियो सुरु गर्ने र बीचमा अलपत्र पारेर हिँड्ने नेपालीहरुको बानी रहेको बताए। उनले भने, ‘चक्रपथ विस्तार नेपाल सरकारको प्राथमिकता हो कि होइन? हो भने त्यसलाई अगाडि बढाउन पर्यो, ताकेता गर्न पर्यो, लापरबाही गर्न भएन, मुआब्जाकाे समस्या समाधान तत्काल गर्न पर्याे नि।’ उनले पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर काम नगर्नाले चक्रपथ विस्तारमा मात्र नभइ देशभरका सडक निर्माण, मर्मत तथा विस्तार कार्य अलपत्र परिरहेको बताए।
सडक विस्तार नहुँदा दैनिक करोडौं घाटामा नेपाल
काठमाडौं उपत्यकामा हाल १५ लाखभन्दा बढी सवारी साधन छन्। यस हिसाबले चक्रपथमा मात्र दैनिक करिब ३ लाख सवारी साधन गुड्छन्। कलंकीदेखि चाबहिल चोकसम्म प्रत्येक सवारी साधनले प्रत्येक दिन थोरैमा आधा घण्टा जामको सामना गर्नुपर्ने हुन्छ। आधा घण्टामा एउटा सवारी साधनबाट कम्तीमा एक लिटर इन्धन अनावश्यक खपत हुन्छ। यसरी हेर्दा प्रत्येक दिन ३ लाख सवारी साधनबाट डेढ लाख लिटर इन्धन बराबर २ करोड ७१ लाख भन्दा बढी रुपैयाँ जामका कारण मात्र अनावश्यक खेर गइरहेको छ। इन्धनमा मात्र भएको अनावश्यक खपतलाई हेर्दा यो तीन वर्षमा करिब ३ खर्ब रुपैयाँ बराबरको इन्धन मात्र यस क्षेत्रको जामका कारण खपत भएको देखिन्छ। जबकी यस क्षेत्रको निर्माण लागत नै ६ खर्ब अनुमान गरिएको थियो। जीर्ण सडकमा गुड्ने सावरी साधनको मर्मत खर्च, अनावश्यक रुपमा हुने मोबिल खर्च त यसमा जोडिएकै छैन।
जती ढिला भयो उति निर्माण सामाग्रीको मूल्य बढ्न गइ लागत पनि बढ्दै जाने हुन्छ, जसरी तीन वर्षअघिको अनुमान अहिले दोब्बर हुन पुग्यो। यसरी हेर्दा चक्रपथ विस्तारमा जति ढिलाइ भयो नेपाल आफैंले पनि आन्तरिक कारणबाट दैनिक करोडौंको घाटा बेहोरिरहेको छ भने चीनको पनि लागतमा वृद्धि हुँदै गइरहेको छ। त्यसैले जतिसक्दो चाँडो नेपालले आन्तरिक समस्या समाधान गरेर चिनियाँ टोलीसँग छलफल गरि दोस्रो चरणको सडक विस्तार कार्य अघि बढाउन आवश्यक देखिन्छ।