काठमाडौं। यसपालि लामो समय प्रभावित बनेको निर्माण क्षेत्रले अब भने गति लिन थालेको छ। वैशाख ८ गतेदेखि निर्माण व्यवसायी महासंघले गरेको ‘निर्माण होलिडे’, असार लागेसँगै वर्खाका कारण सुरु भएको अफसिजन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, युक्रने र रुसको युद्दका कारण बढेको निर्माण सामाग्रीको मूल्यवृद्धि, दशैंतिहार, निर्वाचन लगायतबाट प्रभावित बनेको निर्माण क्षेत्रले बल्ल गति लिन थालेको हो।
अस्पताल भवन, विद्यालय भवन, स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माणका काम, जलविद्युत आयोजना निर्माण, सडक निर्माण, मर्मत तथा सुधार लगायतका कामहरु धमाधम हुन थालेका छन्। पहिले भइरहेका काममा पनि न्यून संख्याका मजदुरबाट काम भइरहेकोमा अहिले मजदुर संख्यामा वृद्धि गरिएको छ भने कामको गती समेत बढाइएको छ। दुई महिनाअघि सम्म ५०–६० जना मजदुरबाट कम भइरहेको आफ्नो एउटा साइडमा अहिले २०० देखि ३०० मजदुरले काम गर्न थालेको जयधनन्जय निर्माण सेवाले जनाएको छ। म्याद सकिँदासम्म सुस्त गतिमा काम भइरहेकाे नारायणघाट–बुटवल सडक पूर्वी खण्डमा अहिले म्याद थप गरी दैनिक १२ सय कामदार परिचालन गरि काम तीव्रताका साथ भइरहेकाे छ। यसैगरी देशभरका अधिकांश याेजना, निजी तथा सार्वजनिक काम तिव्र गतिमा भइरहेकाे देखिन्छ।
अफसिजनमा मूल्यवृद्धि, सिजनमा मूल्य गिरावट
निर्माण सामाग्रीको उपभोगमा आएको उतारचढावले निर्माण सामाग्री व्यवसायीहरु यसपालि हैरान बनेका छन्। वर्खा लागेसँगै निर्माण क्षेत्रमा अफसिजन सुरु हुन्छ। अफसिजनमा प्राय निर्माण कार्य प्रभावित हुने हुँदा निर्माण सामाग्रीको उपभोगमा पनि गिरावट आउँछ। तर यसपालि भने निर्माण क्षेत्रको अफसिजन, निर्माण सामाग्रीको उपभोगमा कमी भएको बेला पनि निर्माण सामाग्रिको मूल्य भने बढिनै रहएको थियो। युक्रेन र रुसको युद्दका कारण निर्माण क्षेत्रको अफसिजनमा पनि निर्माण सामाग्रीको मूल्य घट्नुको साटो बढी नै रहेको थियो। तर त्यसैबेला निर्माण व्यवसायी महासंघले सुरु गरेको निर्माण होलिडे, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, वर्खा लगायतका कारणले निर्माण कार्य भने हुन सकेको थिएन। जसले गर्दा उक्त समयमा मूल्य बढेपनि बिक्री परिमाण भने राम्रो नभएको निर्माण सामाग्री व्यवसायीहरु बताउँछन्।
बर्खा सकिएर दशैंतिहार पनि सकिएसँगै नेपालमा निर्माणको सिजन सुरु हुन्छ। निर्माणका काममा तीव्रता आउँछ जसले गर्दा निर्माण सामाग्रीको उपभोगमा वृद्धि भइ मूल्यमा पनि वृद्धि हुन्छ। तर यसपालि सिजन सुरु भएसँगै निर्माण सामाग्रीको मूल्यमा भने अप्रत्यासित रुपमा गिरावट आउन थाल्यो।
मनसुन बाहिरिएर सिजन शुरु भएपनि आर्थिक तरलता अभावका कारण निर्माण क्षेत्रमा मन्दी आएको थियो। एक महिना अघि अर्थात कात्तिक १९ गतेसम्ममा हार्डवयरको बजार ७० प्रतिशत डाउन रहेको र खपत कम भएपछि मूल्य घट्न थालेको थियो।
सिजनमै घटेर कति पुग्याे मूल्य?
दशैंअघिको तुलनामा तिहार लगत्तै फलामे डण्डीको मूल्य घट्न सुरु भयो। डण्डीको फ्याक्ट्री मूल्य भ्याटसहित १०० देखि १०७ रुपैयाँ प्रतिकेजी रहेको र बजार मूल्य भ्याटसहित १०६ रुपैयाँदेखि १२० रुपैयाँ प्रतिकेजी सम्म पुग्यो। जबकी गत वर्षको सिजनमा फलामे छडको फ्याक्ट्रि मूल्य भ्याट सहित प्रतिकेजी १३५ रूपैयाँसम्म पुगेको थियो।
ग्याविन जालीको मूल्य पनि दशैं अघिको तुलनामा तिहारपछि नै घट्यो। दशैं अघिको तुलनामा ग्याबिन जालीको मूल्य प्रति वर्ग मिटर १२ रुपैयाँले घट्यो। दशैंअघिसम्म फ्याक्ट्रि मूल्य भ्याट सहित प्रति वर्ग मिटर ३०० देखि ३१५ सम्म रहेको ग्याविन जालीको मूल्य प्रति वर्ग मिटर २८८ देखि ३०२ सम्ममा कारोबार हुन थालेको छ। गत वर्षको सिजनमा ग्याविनको फ्याक्ट्रि मूल्य भ्याट सहित प्रति वर्ग मिटर ३१५ रूपैयाँ सम्म पुगेको थियो।
सिमेन्टको मूल्यमा भने खास्सै फेरिवदल आएको छैन। गत भदौ १ गते बढेको सिमेन्टको मूल्य यथावत छ। हाल ओपिसी सिमेन्टको फ्याक्ट्रि मूल्य प्रतिबोरा ५६० देखि ६१० सम्म रहेको छ भने बजार मूल्य ६५० देखि ७२५ सम्म छ।
त्यसैगरी पिपिसी सिमेन्टको फ्याक्ट्रि मूल्य ४६० देखि ५१० सम्म छ भने बजार मूल्य ५५० देखि ६२५ प्रतिबोरा रहेको छ।
कालोपत्रेमा प्रयोग हुने अलकत्राको गत वर्ष भ्याट सहित प्रति लिटर ११७ देखि १४८ रुपैयाँ सम्म पुगेको मूल्य अहिले घटेर करिब १०५ देखि १२२ रुपैयाँ प्रति लिटर पुगेको छ।
निर्माण सामाग्रीको मूल्य बढ्ने सम्भावना
निर्माण क्षेत्रको सिजन सुरु भएपनि आर्थिक तरलता, निर्वाचनको व्यस्तता र चहलपहल, निर्वाचन आयोगको आचारसंहिताका कारण सुस्त बनेको निर्माण क्षेत्रमा अहिले चहलपहल बढेको छ। अहिले निर्माण कार्यले तीव्रता पाइरहेका छन्। जसले गर्दा निर्माण सामाग्रीको मूल्यमा पनि वृद्धि हुने सम्भावना रहेको निर्माण व्यवसायीहरु बताउँछन्। बर्खापछि सबै उद्योग ३० प्रतिशतको हाराहारीमा मात्रै संचालनमा रहेका थिए। अहिले निर्माण कार्यले तीव्रता पाइ निर्माण सामाग्रीको बिक्री बढ्न थालेपछि विस्तारै डन्डी र सिमेन्ट उद्योगले उत्पादन बढाउन थालेका छन्। अहिले निर्माण सामाग्री उत्पादक कम्पनीहरुले सतप्रतिशत उत्पादन गर्न सुरु गरेका छन्। उत्पादन र बिक्री बढेसँगै अब मूल्यमा पनि वृद्धि हुने अनुमान गरिएको छ।
याे पनि:
सिजन सुरु हुदै गर्दा केही निर्माण सामग्रीको मूल्यमा गिरावट, के को मूल्य कति?