काठमाडौं। हुम्लाको उत्तरी चीन सीमामा रहेको लिमी गाउँपालिका तिलगाउँका स्थानीयले १२ दिन लगाएर मोटर गुड्ने काठे पुल निर्माण सम्पन्न गरेका छन् । हिउँदमा हिउँपर्ने र काम गर्न नपाइने निष्कर्ष निकाल्दै बिना सम्झौता सो कार्य गरेर पुलमा गाडी गुडाउनसमेत उनीहरू सफल भएका छन् । उत्तरी लिमीगाउँमा मंसिरदेखि हिमपात भएर वैशाखसम्म पूरै बाटो बन्द हुने गर्दछ ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको तिलबस्तीका स्थानीय लुण्डप तामाङले सम्झौताबिनै उधारोमा तिलगाउँ जोड्ने तिम्ज्यङ मोटरबाटोमा पर्ने लिमी–कर्णालीमा काठेपुल निर्माण गर्न सफल भएको बताए । यसअघि नदीको छेउसम्म सडक निर्माण भएको थियो तर, पुल नबनेका कारण तिलगाउँ सडक निर्माण गरिए पनि सडक सञ्जालसँग जोडिन सकेको थिएन । पुल निर्माणपछि सदरमुकाम सिमकोट र चीन नाका खुलेपछि सामान आयातनिर्यातका लागि सहज हुने भएको छ ।
सामानको निकासी पैठारीले यहाँको बासिन्दाको आर्थिक स्थिति र जनजीवनमा सुधार हुनेमा स्थानीय विश्वस्त छन् । २० मिटर लम्बाइ र पाँच मिटर चौडा काठेपुल उधारोमा निर्माण गरेर तिलगाउँसम्म गाडी पुर्याउन स्थानीय सफल भएका हुन् । यसका लागि तिलगाउँका स्थानीयले सल्लीबाट काठ लगेर पुल निर्माण गरेका हुन् । बजेट सुनिश्चित भएपछि उधारोमै भए पनि काम गर्ने आँट स्थानीयले गरेका हुन् । पुलको योजना स्थानीय उपभोक्ता समूहबाट गरिएको हो।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले डिभिजन वन कार्यालयको वार्षिक कार्यक्रममा स्वीकृत योजना भएका कारण सम्झौता नभई स्थानीयले काम सम्पन्न गरेको बताए । सम्झौता गरेर काम गर्नका लागि समय धेरै लाग्ने र स्थानीयलाई सुविधा चाँडै प्रदान गर्नका लागि पनि पुल निर्माण गरिएको हो । उनले पछि हिमपात हुँदा चिसोले काम गर्न नसकिने स्थानीयले निष्कर्ष निकाल्दै सबैको सहमतिमा सो योजना निर्माण सम्पन्न भएको जनाए ।
तिलगाउँसम्म गाडी पुर्याउनकै लागि पछि आउनसक्ने जोखिमलाई समेत वास्ता नगरी पुल निर्माण सम्पन्न गरिएको छ । कार्यालयसँग समन्वय गर्ने काम र स्थानीयलाई निर्माण अगाडि बढाउन वडाले भूमिका निर्वाह गरेको छ । यसका लागि उपभोक्ताले कार्यालयसँग समन्वय गरेका थिए । अब उपभोक्ता समिति चैत वैशाखपछि मात्र जिल्लामा आएर सम्झौता गर्ने र अनिमात्र भुक्तानी लिन पाउनेछन् । यो अवधिसम्म काठ ढुवानी र कामदारको ज्याला भने उधारोमै रहनेछ ।
जसमा सय जना कामदारले १२ दिन लगाएर काम गरेका छन् । पुल निर्माणका लागि प्रयोग गरिएको मेसिनको ज्याला र ग्याबिनको रकमसमेत उधारोमै छ । आउजाउ सहज नभएका कारण लिमीवासी बर्सेनि विकासे योजना सहमतिमा उधारोमै काम गर्ने चलन रहँदै आएको छ । एउटा योजनाको सम्झौताका लागि आउजाउ र कार्यालयसँग काम गर्नुपर्दा १० दिनसम्म लाग्ने गर्छ । यसले गर्दा समय बढी लाग्ने, आर्थिक व्ययभार पनि बढी नै हुने गरेको छ ।
कार्यालयले सो काठेपुल निर्माणका लागि ६० लाख बजेट विनियोजन भएको जनाएको छ । अन्यत्र कतै पनि बजेट खातामा नआउँदासम्म यस्ता विकासे योजनाको काम अगाडि बढ्न नसक्ने भए पनि लिमीका स्थानीय भने विकास निर्माण कार्यमा फरक देखिँदै आएका छन् । कारोबार दैनिकबाट