काठमाडौं। पुष्पलाल (मध्यपहाडी) राजमार्ग अयोजना कार्यालयले समयमा काम नगर्ने निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको छ। कार्यालयले आज सूचना प्रकाशित गर्दै पाँचौ पटक म्याद थप गर्दा पनि काम नगर्ने निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको हो।
कार्यालयले ३ वटा निर्माण कम्पनी, एम/एस एमपी/ एससीएफ/ ईसीसी जे.भी बिरेन्द्रनगर, सुर्खेतसँग २०७२/१०/१० मा सम्झौता भई बिभिन्न मितिमा गरी पाँचौ पटक सार्वजानिक खरिद नियमावलीको बाह्रौं संसोधन अनुसार म्याद थप भै उक्त ठेक्काको म्याद २०८०/०३/०५ सम्म रहेको कार्यालयले जनाएको छ।
पाँचौ पटक थपिएको म्यादमा माइलस्टोन भइसकेको र माइलस्टोन अनुसार कार्य प्रगति नभएमा क्षतिपूर्ति लाग्ने र ठेक्का तोड्न सकिने कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।
बाह्रौ संसोधन पछि बिभिन्न मितिमा काम गर्न अनुरोध गरिएको थियो। साइट निरिक्षणको क्रममा साइटमा कामको गतिविधि नदेखिएको, कार्यालयको लागि तोकिएको आधिकारिक प्रतिनिधि समेत लामो समयदेखि सम्पर्कबिहिन भएको कार्यालयले जनाएको छ।
निर्माण कार्यमा भएको नोक्सानीको बावजुद अब पनि निर्माण कार्य सम्पन्न नगरे ठेक्का तोड्ने चेतावनी कार्यालयले दिएको छ। यदि ठेक्का तोड्न नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा आधिकारिक प्रतिनिधि कार्यालयमा उपस्थित भई विश्वसनिय स्पष्टीकरण पेश गर्न हुन अनुरोध गरिएको छ।
अन्यथा, यसै सूचनालाई अन्तिम ताकेता मानि सार्वजानिक खरिद नियमावली तथा सम्झौताका शर्त बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाईने कार्यालयले बताएको छ।