काठमाडौं। बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाउन माग गर्दै गोरखा र धादिङका जनप्रतिनिधिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
आज प्रचण्डसँग भेट गरी उनीहरुले बूढीगण्डकी आयोजना निर्माण कार्य अघि बढाउनुपर्ने र मुआब्जा वितरण लगायत बाँकी काम पनि छिट्टै पूरा गर्न माग राखेका हुन्।
१२ सय मेगावाटको आयोजना बनाउन गोरखा र धादिङ तर्फका घरजग्जाको मुआब्जा वितरण लगायतका काम भए भइरहे पनि आयोजना निर्माण भने सुरू हुन सकेको छैन।
गोरखा १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईं, धादिङ २ बाट निर्वाचित सांसद रामनाथ अधिकारीलगायतले आज प्रचण्डसँग भेटेर यस बारेमा माग राखेका हुन्।
सत्ता गठबन्धनबाट गोरखा १ मा कांग्रेसका बजगाईं र २ मा माओवादीका अध्यक्ष प्रचण्डले चुनाव जितेका छन्। उनीहरूले चुनावका बेला पनि बूढीगण्डकी आयोजना निर्माणलाई अघि बढाउने प्रतिवद्धता जनाएका थिए।
बजगाईंले बूढीगण्डकी आयोजना निर्माण कार्य सरकारले अघि बढाउनुपर्ने बताए। ‘बूढीगण्डकी आयोजना निर्माण कार्य सरकारले छिटोभन्दा छिटो अघि बढाउनुपर्दछ,’ उनले भने, ‘सँगसँगै मुआब्जा वितरण तथा स्थानीयका समस्या सुनेर समाधानका लागि ठोस कदम चाल्नुपर्छ।’
आयोजना निर्माण जटिलताबारे गोरखा र धादिङका जनप्रतिनिधिबीच छलफल गरेर द्रुत कार्यान्वयन मार्गचित्र बनाउने पनि उनले बताए।