म्याग्दी। ठेकेदारले काम छाडेपछि पालिका स्तरीय निर्माणधिन ताकम अस्पताल भवन अलपत्र परेको छ । धवलागिरि गाउँपालिका स्तरीय ५ शैयाको अस्पताल भवनको ठेक्का लिएको निर्माण कम्पनीले बीचमै काम छाडेपछि भवन निर्माण अलपत्र परेको हो ।
पटक पटक ताकेता गर्दा पनि ठेकेदारले वेवास्ता गरेको धवलागिरि गाउँपालिकाले जनाएको छ । ठेकेदार सात महिनादेखि बेपत्ता भएका छन् । संघीय सरकारको एक गाउँपालिका एक अस्पताल योजना अनुसार गाउँपालिकाले वडा नम्बर ७ ताकममा २०७७ पुसमा पालिका स्तरीय अस्पताल भवन निर्माण थालेको थियो ।
अस्पताल भवन निर्माणका लागि पालिकाले दुईवर्ष अघि विएम आइएस एसी जेभी बुर्तीबाङ बागलुङसँग चार करोड ८८ लाख ७२ हजार एकसय ३२ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता पछि पेश्की रकम बुझेर केही महिना काम गरेको ठेकेदारले विभिन्न वहाना बनाएर काम छाडेको पालिकाले जनाएको छ ।
गत जेठ २५ गते सम्झौता अवधि सकिएको र पछिल्लो खरिद ऐनको १२ औं संसोधनले एकवर्ष पुन म्याद थपिदा आगमी जेठ २५ सम्म भवन निर्माण सकिसक्नुपर्ने पालिकाका सव इन्जिनियर लोकेन्द्र रावलले बताउनुभयो । ‘‘थपिएको म्याद सकिन ६ महिना वाँकी छ ठेकेदार अझै काममा फर्किएको छैन । थपिएको समयलाई पनि ठेकेदारले सदुपयोग नगर्दा भवन अलपत्र परेको छ,’’रावलले भन्नुभयो । भवनको अहिले सम्म करिब २० प्रतिशत भौतिक प्रगति भएको छ ।
ठेकेदारले नटेरेको कारण भवन निर्माणको काम अलपत्र परेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले भने। ‘‘हामीले फोन मार्फत ठेकेदारलाई पटक पटक ताकेता गरेका छौं । आउँछु भन्दै भाका मात्र राख्ने काम गरेको छ । भुई ढलान सहित डिपिसी गरेर पिल्लर उठाएर छाडीएको छ । पालिकाले फोन मार्फत ताकेता गरेका गरेपनि ठेकेदार आउने नआउने टुंगो छैन,’’ रिजालले भने।
अस्पतालमा आकस्मिक, अन्तरङंग, बहिरंग, प्रयोगशाला, प्रशासनीक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउने योजनामा उल्लेख छ । गोरखापत्रबाट