सुर्खेत। जडीबुटी संकलन तथा प्रशोधन व्यवसाय केन्द्रको भौतिक संरचना तयार भए पनि सञ्चालनमा आउन सकेको छैन। काँक्रेविहार संरक्षित क्षेत्रको सीमासँगै जोडिएको करिब सात कट्ठा जग्गामा बनेको उक्त संरचना उद्देश्यअनुसार सञ्चालनमा आउन सकेको छैन। सो संरचनाको निर्माण ११ वर्षअघि थालिएको थियो।
सो केन्द्र सुर्खेत उद्योग वाणिज्य सङ्घले जडीबुटी संकलन, प्रशोधन तथा व्यवसाय केन्द्र सञ्चालन गर्ने उद्देश्यसहित पूर्वाधार तयार गरेको हो। २०६८ सालबाट प्रशोधन केन्द्र निर्माणको काम थालनी भएको हो। संरचना निर्माणमै उद्योग वाणिज्य सङ्घले दशक बढी समय खर्चिएको छ। पूर्वाधार निर्माणका लागि निजी तथा साझेदारी मोडेलमा करिब चार करोड रुपैयाँ खर्च भएको छ।
कर्णालीमा १४७ भन्दा बढी जडीबुटी पाइने अनुमान गरिएको छ। निजी लगानीमा जडीबुटी सङ्कलन गर्ने गरिए पनि जडीबुटी सङ्कलन तथा भण्डारण केन्द्र नहुँदा सड्ने र गुणस्तर कायम गर्न निकै चुनौती भएको व्यवसायी बताउँछन्।
अहिले कर्णालीका व्यवसायीले नेपालगञ्ज हुँदै भारततर्फ सस्तो मूल्यमा जडीबुटी बिक्रीवितरण गर्न बाध्य छन्। जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र सञ्चालनमा आएपछि कर्णालीका जडीबुटी व्यवसायीलाई सहज हुनेछ। सुर्खेतमै सङ्कलन र प्रशोधन कार्य भएपछि जडीबुटीको ग्रेडिङसहित प्रशोधन गरी बजारीकरणमा सहज हुनेछ भने किसानले उचित मूल्य पाउनेछन्।
आयातमुखी बजार अर्थतन्त्रलाई निर्यातमुखी बनाउने लक्ष्यअनुसार प्रशोधन केन्द्र सञ्चालन गर्ने उद्देश्य राखिएको सुर्खेत उद्योग वाणिज्य संघ अध्यक्ष लक्ष्मण कँडेलले बताए । केन्द्र सञ्चालनका लागि संरचना निर्माण भइसके पनि यातायातका लागि सडक पूर्वाधार सुनिश्चित नहुनु मुख्य समस्या भएको उद्योग वाणिज्य सङ्घले औँल्याएको छ। काँक्रेविहार संरक्षित क्षेत्र नेपालको पहिलो संरक्षित क्षेत्र हो। यो प्रशोधन केन्द्रको मूल गेट काँक्रेविहारको सीमासँगै जोडिएको छ। हाल प्रशोधन केन्द्रका लागि काँक्रेविहारभित्रकै बाटो प्रयोग भइरहेको छ। काँक्रेविहार क्षेत्रले आफ्नो सीमा क्षेत्रमा पर्खाल लगाउँदैछ।
निर्माणाधीन पर्खाल बनिसकेपछि प्रशोधन केन्द्रले प्रयोग गरिरहेको सडक बन्द हुनेछ। संरचना निर्माण गर्दा बाटो, विद्युत्लगायतका विषयमा ध्यान नपुर्याउँदा अहिले अन्योल सिर्जना भएको जानकारहरू बताउँछन्। स्थायी बाटो नै नभएको स्थानमा करोडौँ लगानी गरेर संरचना निर्माण गर्नु गलत भएको उनीहरूको तर्क छ।