धनगढी। धनगढी उपमहानगरपालिमा मुख्य सडक विस्तार गर्नका लागि ६० करोड बजेट उपलब्ध गराइएको छ। धनगढीका मेयर गोपाल हमालले प्रदेश सरकारसँग समन्वय गरेपछि मुख्य सडक चौडा पार्न आवश्यक ६० करोड बजेट उपलब्ध भएको हो।
उनले सडक निर्माण गर्न अभिभाकत्व लिएपछि प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावल र प्रदेशका मुख्यसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उपमहानगरपालिकामा बोलाई स–सम्मान धन्यवाद दिएका छन्।
प्रदेश सरकारका तर्फबाट उपमहानगरले यसैगरी समन्वय गरे थप बजेट र योजना दिने बाटो खुलेको प्रतिक्रिया आएको छ। हमालले सडक चौडा पर्ने कुरा प्रदेश सरकारले गर्नुपर्ने प्रस्ताव लिएर मन्त्री र मुख्यमन्त्रीलाई भेटेका थिए।
उनले भने, ‘मैले मन्त्री सोडारीलाई भने, उहाँले खाली गर्न सक्नुहुन्छ त भन्नुभयो मैले सक्छु भने। नसके राजीनामा दिन्छु भनेको थिएँ, धनगढी बासिन्दाको चाहनाले कुनै लठ्ठी प्रयोग नगरी त्याग गरिदिनुभएकाले धन्यवाद छ, ५० वर्षपछि भने हाम्रा भावी पुस्ताले सम्झने काम हुने छन्।’
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले हमालले प्रदेश सरकारसँग समन्वय गरी विकास गर्ने मोडल अरू पालिकाले पनि सिक्नुपर्ने बताए।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलाई सुरूमा त हमालले धनगढीका सयौं घर भत्काएर सडक चौडा पार्न सक्छन् भन्ने लागेको थिएन।
अरू कयौं ठाउँमा भएजस्तो मुद्दा पर्ने, ठेक्का पर्न समस्या हुने र लम्बिने हो कि भन्ने उनलाई लागेको थियो।
उनले भने, ‘साझेदारी गर्न ऐन पनि बनेको थिएन। ६० करोडले नपुग्ने देखिएको छ। यसको लागि थप बजेट दिने तयारी छ। बाटोले धनगढी सहरजस्तो नभएको, अहिले मर्निङ वाक गर्दा आनन्द लाग्छ।’
मन्त्री सोडारीले उपमहानगरपालिकाले संरचना भत्काएर सडक क्षेत्र खाली गरिएकाले अबको १५ दिनभित्र निर्माणका लागि टेण्डर गरिने दाबी गरे।