काठमाडौं। निर्माणाधिन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ७०.२० प्रतिशत पुगेको छ । आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ७ सय ११ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।’
गएको महिना आयोजनाको प्रगति ६७ प्रतिशत थियो । निकासी सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये १ हजार ९ सय ४८ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । वर्किङ अडिट १ सय २६ मिटर पूरा भएको छ भने क्रस प्यासेज १ सय २८ मिटर पूरा भएको छ । आयोजनाको कुल भौतिक प्रगति ४६ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४९ प्रतिशत पूरा भएको छ ।
मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ । सुरुङ मार्ग छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ (फिनिसिङ) को कामसमेत तीव्रताका साथ अघि बढाएको छ । हालसम्म मुख्य, सहायक सुरुङ, वर्किङ अडिट सुरुङ खन्ने काम सम्पन्न भएको प्रगति विवरण आयोजनाले सार्वजनिक गरेको छ ।
०७७ पुस ७ बाट सुरुङ छेड्ने काम थालिएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.६८ किलोमिटर लम्बाइको सुरुङमार्ग शिलान्यास गरेका थिए । लम्बाइ २।६८ किमी, चौडाइ ३.५ किमी, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाइ २.३२ किमी, पश्चिम लम्बाइ ०.५६५ किमी निर्माण हुने छन् ।
कोभिड–१९ र आन्तरिक तयारीका कारण केही महिना ढिलो भएको थियो । करिब २२ महिनामा आयोजनाको ७० प्रतिशत प्रगति हासिल गरेको हो । कार्यतालिका अनुसार नै सुरुङमार्गको काम भइरहेकाले गर्दा निर्धारित समयमा नै पूरा हुने बताइएको भए पनि समयमा भने आयोजना पूरा नहुने देखिएको छ । २४ सै घण्टा करिब ५ सय ८० प्राविधिक जनशक्ति सहितको टोलीले सुरुङमार्ग खन्ने काम भइरहेको छ ।
नेपाल सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी कुल करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको हो । सम्झौता अनुसार काम सुरु गरेको ४२ महिनाभित्र अयोजना समापन गर्ने उल्लेख छ । तर कोभिड–१९ का केही महिना ढिलाइ भएपछि ३ महिना थप गरेको आयोजनाको समय सीमा ४५ महिना तोकिएको छ।
आयोजना निर्माण कम्पनीले थप ७ महिना माग गरेको भए पनि यता सडक विभागले ३ देखि ४ महिनामात्र समय थप गर्ने सकिने जनाएको छ । सम्झौता अनुसार जापानी निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले काम सुरु गरेको ४५ महिना भित्र (थप गरेको ३ महिनासहित) आगामी २६ जुलाई ०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । कारोबार दैनिकबाट