काठमाडौं। निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन प्रा.लिले सडक विभागसँग ठेक्का सम्झौता अन्त्य गरेको छ। पप्पु कन्स्ट्रक्सनले गोरखाको बट्टार–मकैसिडको त्रिशुली नदीमा पुल निर्माणका लागि सडक विभागसँग गरेको सम्झौता अन्त्य गरेको सूचना पत्रिकामा प्रकाशन गरेको हो।
योजनाबाट उपलब्ध गराउनु पर्ने सुविधा उपलब्ध नगराएको, योजनाले निर्माण गरिदिन पर्ने बेली पुल हालसम्म निर्माण नगरेको, निर्माण व्यवसायीले पेस गरेको बिल भुक्तानी नगरेको र पटक पटक यी विषयमा पत्रचार गर्दा समेत आयोजनाले वेवास्ता गरेकाले ठेक्का सम्झौता तोड्नु परेको सूचनामा उल्लेख छ। योजनाबाट सम्झौताको आधारभुत उल्लंघन भएकाले बाध्य भएर ठेक्का सम्झौता अन्त्य गर्नुपरेको निर्माण कम्पनीको भनाइ छ। कम्पनीले सूचनामा आयोजनासँग वित्तिय फरफारकका लागि अनुरोध समेत गरेको छ।
गोरखाको बट्टार–मकैसिड क्षेत्रको त्रिशुली नदीमा पुल निर्माण गर्नका लागि सडक विभाग र पप्पु कन्स्ट्रक्सनबीच वि.सं. २०७१ साल असार २९ गते सम्झौता भएको थियो। निर्माण व्यवसायीका तर्फबाट यसरी पत्रिकामा सूचना प्रकाशन नै गरेर ठेक्का सम्झौता अन्त्य गरेको यो नेपालको इतिहासमा सम्भवत पहिलो घटना भएको निर्माण व्यवसायीहरु बताउँछन्।
पप्पु कन्स्ट्रक्सन अधिकांश ठेक्का हात पार्ने र अपलत्र पारेर छोड्ने कम्पनीको रुपमा चिनिन्छ। यो कम्पनी पटक पटक कालोसूचीमा पर्ने गरेको छ भने काम नै नगरेपछि आयोजनाका तर्फबाट ठेक्का सम्झौता अन्त्य गरिएको घटना पनि धेरै छन्। तर यस कम्पनीले आयोजनाहरुले प्रकाशन गर्ने सूचनाकै शैलीमा पत्रिकामा सूचना प्रकाशन गरी आयोजनासँगको ठेक्का सम्झौता अन्त्य गरेको छ।
पप्पु कन्स्ट्रक्सनको यो सूचनाले निर्माण क्षेत्रमा एउटा अर्को प्रश्न समेत खडा गरेको छ। सँधै लापरबाही गर्ने, काम नगर्ने, ढिलासुस्ती गर्ने भनेर निर्माण व्यवसायीलाई मात्र आक्षेप आइरहन्छ। निर्माण व्यवसायीले आयोजनाका कमीकमजोरी देखाउँदै ठेक्का सम्झौता अन्त्य गरेको यो सूचनाले दोषि निर्माण व्यवसायी मात्र नभएर आयोजना पनि हुन सक्छन् भन्ने तर्फ ध्यानाकर्षण गराएको छ।