काठमाडौं। काठमाडौंको रत्य राज्यलक्ष्मी क्याम्पस सुकुन्दा साहित्य पालाले दुई दशकदेखि बन्द रहेको पत्रिका पुन: प्रकाशनमा ल्याएकाे छ। बुधबार रत्न राज्य लक्ष्मी क्याम्पसमा नेपाल भाषा अध्ययनरत विद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरी वार्षिक पत्रिकाको लोकार्पण गरेका हुन्।
कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, नेपाल भाषा केन्द्रीय विभागका प्रमुख डा.राज जोशी लगायतले संयुक्त रुपमा पत्रिका लोकार्पण गरेका हुन्।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री श्रेष्ठले आफू २०३१ सालमा उच्च शिक्षाका लागि रत्न राज्य लक्ष्मी क्याम्पस छिरेको र त्यहि बेला सुकुन्दा साहित्य पालाले वार्षिक पत्रिका निकाल्न थालेको स्मरण गरे। उनले यस पत्रिकाको माध्यमबाट राजनीतिक, भाषिक, सांकृतिक चेतनामा अभिवृद्धि गराउन, विद्यार्थीको हकअधिकारको विषयमा आवाज उठान समेत मद्यत गर्ने बताए ।
सुकुन्दा साहित्य पालाका अध्यक्ष प्रशान्त डंगोलले रत्न राज्य लक्ष्मी क्याम्पसमा नेपाल भाष अध्ययन गर्ने विद्यार्थीको संख्या कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे। उनले भाषा विज्ञानको अध्ययन र अध्यापन गराउने क्षेत्रमा त्रिभुवन विश्वविद्यालयले बजेट निकासा नगरेकाे, विद्यार्थीको लागि पाठ्यपुस्तक अभाव रहेकोदेखि अन्य विभिन्न व्यवस्थापकीय कमजोरी समेत औंल्याए।
विभिन्न लेख रचना समेटिएको यो पत्रिकालाई अध्यक्ष डंगोलको नेतृत्वमा १९ सदस्यीय कार्यसमितिले प्रकाशन गरेको हो। २०३१ सालदेखि प्रकाशन हुँदै पटक पटक बन्द हुँदै आएको यो पत्रिकालाई अब भने निरन्तरता दिने अध्यक्ष डंगोलको भनाइ छ।