काठमाडौं। सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउन सम्बन्धित सबै पक्ष कडाइका साथ लागिपरेका छन्। ट्राफिक प्रहरी, वातावरण विभागदेखि अन्य सरोकारवाला निकायले समेत सवारी साधन व्यवस्थापनमा चासो र कडाइ गर्न थालेका हुन्।
ट्राफिक प्रहरीले लामोदुरीका यात्रुबाहक सवारी साधनमा दुई चालक नराख्ने ४१ जनालाई कारबाही गरिसकेको छ। काठमाडौंको नागढुंङ्गा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाएपछि कारवाही गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार टिसिए एपमा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुङ्गा नाका सहित सात वटै प्रदेशका १५ स्थानमा रहेको चेक प्वाइन्टमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए नभएको यकीन हुन्छ ।
०७५ माघ २८ बाट सुरु भएको यो चेकिङ केही समय, सञ्चालनपछि कोभिड लगायतले रोकिएकोमा पुनः गत असोज ३१ बाट शुरुवात भएको थियो । पछिल्लो पटक ४१ सवारीसाधनका चालक कारवाहीमा परेको महाशाखाले जनाएको छ ।
तनाव र थकानले दुर्घटनाको जोखिम बढ्ने भएकाले अनिवार्य रुपले लामोदुरीका यात्रुबाहक सवारीसाधनमा दुई जना चालकको व्यवस्था छ ।
त्यसैगरी ट्राफिक प्रहरीले सवारी साधनमा राखिएको कपडाको झलर, डोरी, रिबन, विभिन्न स्टिकरहरू लगायतका सामाग्री हटाउन शुरू गरेको छ। काठमाडौंको नागढुङगामा गरिएको चेकिङमा छोटो तथा लामो दुरीमा संचालन हुने सवारी साधनको अगाडी सिसाको भागमा राखिएका झलर, डोरी, रिबन, लेस, स्टिकर लगायतका सामाग्री हटाएको हो ।
सवारी साधनमा राखिएको झल्लर तथा स्टिकरका कारण अन्य सवारी साधनको गतिविधी अनुमान गर्न नसकिने र आफू भन्दा अगाडीको सवारी साधन सँगको ब्रेकिङ डिस्टान्स (सवारीसँगको दुरी) कायम राख्न नसकि सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले झल्लर तथा स्टिकर हटाउन थालेको ट्राफिक प्रहरीले जनाएको छ।
सवारी साधनको अगाडी सिसाको भागमा विभिन्न सामाग्री राखिएको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार लापरबाही गरी सवारी साधन चलाएको कसुरमा कारबाही गरीने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवम् प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले बताए।
त्यसैगरी वातावरण विभागले आजदेखि गाडीको प्रदूषण जाँचपासमा कडाइ गर्ने भएको छ। यसअघि छड्के जाँचमा मापदण्डभन्दा धेरै प्रदूषण फ्याँकेको पाइए मर्मत गरेर प्रदूषण जाँचपास गराउन निर्देशन दिइँदै आएको थियो ।
तर, आजदेखि वातावरण संरक्षण ऐन ०७६ को दफा ४१ को उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने वातावरण विभागका प्रवक्ता शंकर पौडेलले जानकारी दिए । उनका अनुसार प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले छड्के जाँच गर्नेछन् ।
‘उपत्यकामा यातायात व्यवस्थापन गर्न ढिलो भयो’
उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधारमा धेरै ढिलाइ भएको सार्वजनिक यातायात क्षेत्रका सरोकारवालाहरूले बताएका छन् । राजधानीमा बिहिबार आयोजित काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि आवश्यक योजनामा आधारित कार्यक्रममा सहभागी सरोकारवालाहरूले उपत्यकाको सार्वजनिक यातायात प्रणालीको तत्कालै सुधारको थालनी नगर्ने हो भने भविष्यमा झन कठिनाइ उत्पन्न हुने बताए ।
सरकारका मुख्य सचिव शंकर बैरागीले सहरी क्षेत्रमा सार्वजनिक यातायात अव्यवस्थित हुनुमा वैज्ञानिक प्रमाणको आधारमा रुटको वर्गीकरण नहुनु मुख्य कारण भएको बताए ।
बैरागीले ठूला सहरमा विद्युतीय सवारी साधनको संख्या वृद्धि गर्नुका साथै चार्जिङ स्टेशन स्थापनालाई प्राथमिकता दिनुपर्नेमा समेत जोड दिए ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यातायात सुधारको विषयमा छलफल धेरै भए पनि यथार्थमा प्रभावकारी ढंगले कुनै काम हुन नसकेको बताए ।ललितपुर महानगरपालिकाले १ हजार ४ सय स्मार्ट स्ट्रीट लाइट जडान गर्दैछ । त्यस्तै, ललितपुर महानगरको मूख्य क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलले योजनामा आधारित सहरको विकास नभएको कारण नै सार्वजनिक यातायात सञ्चालन पनि समस्यामा परको उल्लेख गरे । काठमाडौ उपत्यकाको सार्वजनिक यातायात सुधार गर्न भुमिगत मेट्रो रेल प्रणाली प्रभावकारी यातायातको साधन हुन सक्ने बताए।