स्याङ्जा। स्याङ्जाका दुई सडक प्रविधिमैत्री रुपमा निर्माण गरिँदैछ। गण्डकी प्रदेशमा पहिलो पटक देशकै स्रोत र साधनलाई प्रयोग गरेर स्याङ्जाको दुई सडक प्रविधिमैत्री रूपमा निर्माण गरि रहेको हो।
स्याङ्जाको वालिङबाट पर्वत–गुल्मी जोड्ने बायाटारी उदियाचौर सेतीबेनी सडक र चापाकोट हिलाममरेङ सडकलाई नयाँ प्रविधि प्रयोग गरेर निर्माण तीव्र गतिमा अगाडी बढाईएको छ।
देशमै भएको गिट्टी, बालुवा, सिमेन्ट, रडको प्रयोग गरेर गण्डकी प्रदेशमै पहिलो पटक सडक ढलान गरिएको बताइएको छ ।
एक निर्वाचन क्षेत्र, एक सडक अन्तर्गत निर्माण गरिएको बायाटारी उदियाचौर सेतीबेनी सडक ढलानले मुख्य गरेर वालिङ र गल्याङ्ग नगरपालिका नागरिक प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
यहाँको १० किलोमिटर ढलान लुम्बिनी गजेन्द्र जेभी स्याङ्जाले २०७९ माघ १५ गते सक्नेगरी २०७७ साउन १८ गत सम्झौता गरेको थियो । ३३ करोड ५४ लाख ३० हजार ७४६ रुपियाँ ५९ पैसामा निर्माण कम्पनीले सम्झौता गरेको थियो । पूर्वाधार विकास कार्यालय स्याङ्जाका अनुसार ९५ प्रतिशत काम सकिएको छ।
यस्तै, शर्मा हाई हिमालय जेभीले चापाकोट हिलाममरेङ सडक २०७७ साउन २७ सते तीन वर्षमा काम सक्नेगरी काम अघि बढाएको हो । १० किलोमिटर ९९० मिटर ढलान गर्नेगरी २९ करोड ६५ लाख ९३ हजार ९१३ रुपियाँ ९७ पैसामा सम्झौता गरेको हो । चापाकोट हिलाममरेङ सडकको पचास प्रतिशत भौतिक र आर्थिक प्रगति भएको छ।
दुबै सडक ढलानमा आठ र १० एफएमको फलामको डन्डी प्रयोग गरी मिक्स डिजाइनअनुसार एम ३० को ग्रेडको कङ्क्रिट प्रयोग गरिएको छ । सडक १० इन्चको साढे चारदेखि छ मिटर सम्म चौडा ढलान गरिएको बताइएको छ। दु
सरकारले सबै सडकलाई कालोपत्रे गर्ने गरे पनि विदेशी अलकत्रा र जनशक्तिलाईभन्दा स्वदेशी सामग्री र जनशक्तिको प्रयोग गर्ने हेतुले यो प्रविधि अपनाइएको छ ।