काठमाडौं। कर्णाली करिडोरमा सवारीसाधन चल्न थालेपछि आर्थिक चहलपहल वृद्धि भएको छ । करिडोर क्षेत्रका आसपासमा बजार हुनसक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक चहलपहल बढेको हो ।
कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म दर्जनौँ ठाउँहरू बजार रुपमा विस्तार भएका छन् । कर्णाली करिडोरको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म सवारीसाधन चल्न थालेका छन् । अहिले यो सडकखण्डका दर्जनौं ठाउँमा बजारका रुपमा विकास भएका छन् ।
कालीकोटको खुलालु, लालिघाट, रेगिल, सान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुराको कोल्टी पिलिचौर, हिमाली गाउँपालिकाको धुलाचौर लगाएतका क्षेत्रहरु अहिले बजारमा रुपमा विकसित भएका छन् । यी बजारहरुमा अहिले व्यापारी केन्द्रका रुपमा स्थापित हुन थालेको कालीकोट रास्कोट नगरपालिका–८ का अनन्त बरालले बताए ।
कर्णाली करिडोरमा सवारीसाधन चल्न थालेपछि आसपासका मानिसहरू अहिले तरकारी खेती गर्नेहरुको संख्यामा वृद्धि हुँदै गएको छ । विगतमा रोजगारको केही उपाय नहुँदा भारतमा रोजगारी गर्न जानेहरू अहिले तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।
गाउँ–गाउँमा नै बजार बनेका कारणले बारीमा लगाएको तरकारी कता लगेर बेच्ने भन्ने समस्या नभएकाले तरकारी खेती गर्न थालेको रास्कोट नगरपालिका–६ भात्तडीका किसान नरप्रसाद बरालले बताए । कर्णाली करिडोर क्षेत्रमा उत्पादन भएको बस्तुहरु हिमाली जिल्लामा र तराईका जिल्लामा पठाउन सजिलो भएकाले अहिले धेरैजसो नागरिक कृषि पेशामा संग्लन रहेको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।
जुम्लाको उत्पादित खाद्यान्न देशभित्र मात्र होइन विदेशमा पुग्ने गरेको छ । जुम्ला घर अर्गानिक एन्ड सुपर फुड्स प्रालिमार्फत स्थानीयस्तरमा उत्पादन भएका समान विदेशमा समेत लिएर बिक्री हुने गरेको छ । अघिल्लो वर्ष मात्र जुम्ली मार्सी, सिमी र कोदो गरी झन्डै ३० टन खाद्यान्न क्यानडा पुगेको कम्पनीका सञ्चालक राज शाहीले जानकारी दिए ।
कम्पनीले यस वर्ष १ टन सिमीको दाल र १ टन मासको दाल जापानका बजारमा पनि पठाएको छ । १० किलो स्याउको चाना पनि जापान गइसकेको शाहीले जानकारी दिए । गत वर्ष अस्ट्रेलियामा झन्डै २५ टन मार्सी चामल र सिमी पनि निर्यात भएको थियो । स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो, टिमुरलगायत सामग्री विश्वका विभिन्न बजारमा पठाइरहेको छ । जुम्ला घर अर्गानिक्सले अमेरिकामा दुई वर्षदेखि मार्सी चामल पठाइरहेको छ । गत वर्ष पनि ४० क्विन्टल जुम्ली मार्सी चामल अमेरिका पठाइएको शाहीले जनाए ।
मार्सी चामल, ओखर, सिमी, स्याउको चाना, चिनो र कागुनो ती देशहरूमा गइरहेको हो । खलंगास्थित चन्दननाथ सहकारीले पनि स्थानीय उत्पादन संकलन गरेर काठमाडौंसम्म पठाइरहेको छ । गत वर्ष हिमालयन बहुउद्देश्यीय सहकारीले करिब ३० टन स्याउ बंगलादेश पठाएको थियो । बाहिरबाट आउने खाद्यान्नका कारण रैथाने बाली उत्पादनमा कमी आइरहेको स्थानीय किसान जीवनबहादुर बुढाले बताए।