मध्यपहाडी लोकमार्ग
पुष्पलाल (मध्यपहाडी लोकमार्ग) राजमार्गअन्तर्गत रुकुम पश्चिम ,जाजरकोट र दैलेख जिल्लालाइ जोड्ने गर्दछ । रुकुम पश्चिम ६५ किलोमिटर सडक पुरै काम सकिएको छ । रुकुम पूर्वबाट रुकुम पश्चिम जोड्दै जाजरकोटबाट दैलेख जोड्ने सडकमा यो पर्दछ । जाजरकोटको ८३ किलोमिटर सडकेमध्य निर्माण हुन अब २५ किलोमिटर मात्र बाँकी छ । दैलेखको १२५ किलोमिटर मध्य ४० किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको इन्जिनियर हुमनाथ पौडेलले बताए । यो राजमार्गमा ६५ किलोमिटर सडक निर्माण हुँन बाँकी रहेको इन्जिनियर पौडेलले बताए । सडकको २ अर्ब दायित्व रहेको छ भने झण्डै ९ अर्ब बजेट खर्च भएको भइसकेको छ ।
भेरी करिडोर
भेरी करिडोरको सुर्खेत ,सल्यान , जाजरकोट हुुँदै डोल्पा जोड्ने सडकअन्तर्गत पर्छ । यो सडकले भारत र चीनको सिमानासँग पनि जोड्ने गर्दछ । डोल्पाको अन्तिम बिन्दु मरिम्ला ,तिन्जे रहेको छ । यो सडक खण्डको जाजरकोट सदरमुकाम सम्मा पिच गरिएको छ भने पुर्वी जाजरकोट हुँदै डोल्पा जोड्ने सडकको लागि पिचको काम चालु अवस्था रहेको छ । तोकिएको समय भन्दा निकै ढिलो गरी काम भइरहेको भेरी करिडोरको अहिले स्तरोन्नतीको काम चलिरहेको छ ।
भेरी नदीमा पुलका कामहरु चलिरहेका छन् । १३ पुलमध्ये ७ पुल निर्माण भएका छन् भने बाँकी पुलहरु निर्माण गर्ने क्रम्मा रहेका छन् । यो विवरण जाजरकोट सदरमुकामबाट डोल्पाको सदरमुकाम दुनैसम्मको मात्र हो । त्योभन्दा माथिल्लो भागमा चीनको सिमानाबाट सडक निर्माण भएर उपल्लो डोल्पाका मध्य भागमा ल्याइएको छ ।
भेरी करिडोरको सडकले चीन र भारतलाई सडक सञ्जालले जोडेपछि डोल्पा र तिब्बतको सिमाना मरिम्ला र भारतको रूपैडियाबीच सिधा सम्पर्क जोडिनेछ । करिडोरको सडक जाजरकोट, रूकुम र डोल्पाको भूगोललाई पहाडी फिडर रोडको अवधारणाअनुरूप निर्माण भएको छ । सडक निर्माणले डोल्पामा उत्पादन हुने बहुमूल्य जडीबुटीले बजार र उचित मूल्य पाउने भएको छ ।
रूकुमको चौरजहारी र जाजरकोट सदरमुकामलाई २०६५ मा सडक सञ्जालसँग जोडेसँगै जाजरकोट–डोल्पा सडक निर्माणको काम सुरू भएको थियो । एक सय १८ किलोमिटर दुरी रहेको जाजरकोटको पासागाढदेखि डोल्पाको त्रिपुरासुन्दरीको सुपानीसम्म १०३ किलोमिटर सडकको काम नेपाली सेनाले सम्पन्न गरेको छ । सुपानीदेखि सदरमुकाम दुनैसम्म १४ किमी सडक निर्माण स्थानीय निकाय र सांसद विकास कोषमार्फत निर्माण गरिएको थियो ।
भारतको रूपैडिहा जमुना नाका हुँदै उत्तरी चीन सीमा नाका जोडिने सडकलाई भेरी करिडोर नामकरण भएको छ । छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय महत्वको सडकका रूपमा रहेको छ । भेरी करिडोरको नक्सा भेरी नदीको किनारै किनार पर्दछ । भेरी नदी उद्गमस्थल धौलागिरी हिमालको पश्चिम भाग डोल्पाको छार्का क्षेत्र पर्दछ ।
भेरी नदी डोल्पाबाट जाजरकोट पश्चिम रूकुम र सल्यानको सीमा हुँदै सुर्खेतको चुरे क्षेत्रबाट बग्दै पश्चिम पुगेर कर्णालीमा मिसिन्छ । सडक नहुँदा दैनिक उपभोग्य सामग्रीदेखि लिएर विकास निर्माणका सामग्रीसमेत खच्चडबाट ढुवानी गर्नुपर्ने बाध्यता सडक पुगेपछि खच्चडप्रतिको निर्भरता घटेको छ । डोल्पामा आजभोलि चामल, तेल, साबुन, लत्ता कपडालगायतका दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री सस्तिएको छ । सडक नहुँदा पहिला दैनिक उपभोग्य सामग्री लिन रूकुमको चौरजहारी, राडीज्युला, गोतामकोट, जाजरकोटको रिम्ना, तल्लु बगरलगायतका बजारमा पुग्नुपर्ने बाध्यता हटेको छ ।
कर्णालीको पनि विकट जिल्ला डोल्पा जैविक विविधताको भण्डारको रूपमा चिनिने र क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो हिमाली जिल्ला हो । दुनैबाट मरिम्लासम्मको ९० किलोमिटर रहेको छ । जाजरकोटको सदरमुकामबाट दुनै सम्मा ११८ किलोमिटर रहेको छ । भेरी करिडोर सबैको लम्वाइ ३१७ किलोमिटर रहेको सडक डिभिजन चौरजहारीका प्रमुख आशुतोष कर्णले बताए । कच्ची कटान हुन बाँकी दुनैबाट धोसम्म रहेको छ । १० अर्ब यसको कुल खर्च रहेको छ ।
लुम्विनी रारा सडक नाम दिइएको सडकको काम समेत जाजरकोट खण्डमा भइरहेको छ । जाजरकोट र जुम्लाको सिमानाबाट सुरुङ निर्माण गरेर सडक बनेमा कर्णाली राजमार्गभन्दा जुम्ला नेपालगन्ज ७ घण्टा छिटो पुग्ने गर्दछ । अहिले जाजरकोटबाट सुरु गरिएको छ । लम्बिनी दाङ, सल्यान, रुकुम पश्चिम हुँदै जाजरकोट जुम्ला र रारा यो सडकको रेखांकन रहेको छ ।
मदन भण्डारी राजमार्ग
मध्यपहाडी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको बीचमा बन्दै गरेको मदन भण्डारी राजमार्गले १४ जिल्लालाई छुन्छ । यो राजमार्गले नेपालको पूर्वदेखि पश्चिमसम्मका चुरे आसपासका क्षेत्रलाई समेटेको छ ।
सुर्खेतमा मदन भण्डारी राजमार्ग धुलियाविट–भेडाबारी–बोटेचौर सडक खण्डमा स्तरोन्नतिको काम काम जारी रहेको छ । राष्ट्रिय राजमार्गको मापदण्डअनुसार सुधार–विस्तार गर्न लागिएको छ । कालोपत्रे गर्न लागिएको सडक दुई लेनको बनाइँदै छ । अहिले औषत चार मिटर चौडाइ रहेको सडकलाई स्तरोन्नति गरेर नौ मिटर बनाइनेछ ।
राष्ट्रिय राजमार्गको मापदण्डअनुसार नै अघि बढाइएको कार्यालयले जनाएको छ । स्तरोन्नति भइरहेको सडक खण्डले पूर्वी सुर्खेतका मुख्य व्यापारिक केन्द्रहरूलाई जोेड्छ । यस क्षेत्रमा वीरेन्द्रनगर, लेकवेशी र गुुर्भाकोट नगरपालिकाका भू–भाग पर्दछन् । राजमार्ग अन्तर्गत ३५ किलोमिटर क्षेत्र पूर्वी सुर्खेतमा रहेको छ । यो खण्डमा नयाँ सडक निर्माण गर्नुपर्ने छैन । पहिल्यै बनेका सडकलाई जोडेर स्तरोन्नति गरिने भएको हो ।
सडक स्तरोन्नतिका लागि एक अर्ब ९४ करोड ८४ लाख २३ हजार ६ सय रूपैयाँ लागत अनुुमान गरिएको छ । २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । विसं. २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको छ ।
राजमार्ग अन्तर्गत सुर्खेत खण्डमा पर्ने सडकको कामलाई गति दिन वीरेन्द्रनगरमा कार्यालय राखिएको एक वर्ष मात्र भयो । धुलियाविट–भेडाबारी सडकको वि.सं. २०३६ सालमै ट्रयाक खोलिएको थियो । सडक निर्माण थालेको चार दशकपछि मदन भण्डारी राजमार्ग नामाकरण गरी सुधारको काम अघि बढेको हो । सडक स्तरोन्नतिको काम सम्पन्न भए यहाँ बाह्रै महिना यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।