तस्बिर : कान्तिपुर
धनगढी । बजेट अभावमा धनगढी–दिपायल द्रुतमार्ग (फास्ट ट्य्राक) को काम रोकिएको छ । ठेक्का लागेर आधा काम भइसकेका खण्डका लागि पनि चालु आर्थिक वर्षमा बजेट विनियोजन भएको छैन । गर्त वर्षकै भुक्तानीसमेत बाँकी भएकाले निर्माण कम्पनीहरूले काम रोकेका हुन् ।
संघीय सरकारको प्राथमिकतामा रहेको भनिए पनि कहिले प्रदेश सरकार त कहिले आफ्नै मातहत रहदै आएको धनगढी–दिपायल फास्ट ट्य्राक सुदूरपश्चिमकै गौरवको आयोजना हो । यस आयोजनाका संघीय सरकारले चालु आर्थिक वर्ष ०७९/०८० मा बजेट नै विनियोजन नगरेकोले काम रोकिएको आयोजना कार्यालयले जनाएको छ ।
धनगढी–दिपायल फास्ट ट्य्राक निर्माण आयोजना कार्यालयले यसअघि नै चार वटा खण्डमा गरी साढे ४४ किलोमिटर कालोपत्रे गर्न ठेक्का लगाएर काम सञ्चालन गरिसकेको थियो । जसअन्तर्गत कैलालीतर्फ दुई वटा खण्ड गरी २० किलोमिटर र डोटीतर्फ पनि दुई वटा गरी साढे २४ किलोमिटर कालोपत्रेका लागि ठेक्का लगाएर काम सञ्चालन गरेको आयोजना कार्यालय प्रमुख लक्ष्मण रावलले बताए ।
तर ती खण्डमा कामको जिम्मेवारी पाएका निर्माण कम्पनीहरूले रकम भुक्तानी नभएको भन्दै दसैंतिहारदेखि नै काम रोकेका हुन् । त्यति मात्रै हैन, चालु आर्थिक वर्षमा आयोजना कार्यालय सञ्चालनका लागि समेत बजेट नभएकाले कार्यालय नै ठप्प रहेको आयोजना कार्यालयका प्रमुख रावलले बताए ।
आयोजना कार्यालयका अनुसार निर्माण कम्पनीहरूलाई गत वर्षकै ७८ करोड भुक्तानी गर्न बाँकी छ । ‘गत वर्ष काम गरेकै ठूलो रकम भुक्तानी गर्न सकेका छैनौं । यस वर्ष त बजेट नै विनियोजन नभएकाले गत दसैं तिहारपछि काम ठप्प छ,’ आयोजना प्रमुख रावलले भने, ‘काम नरोकिएको भए धेरै प्रगति भइसक्ने थियो ।’
बजेटका लागि अर्थ मन्त्रालयमा माग गरिएको आयोजना कार्यालयले जनाएको छ । ‘पूर्वस्वीकृति लिएरै हामीले ठेक्का लगाएका हौं, गत वर्षकै ७८ करोड दायित्व छ, चालु आर्थिक वर्षका लागि ५५ करोड माग गरेका हौं,’ आयोजना प्रमुख रावलले भने, ‘बहुवर्षीय ठेक्कामा त सरकारले बजेट विनियोजन गर्नै पर्ने हो । तर कर्मचारीको तलबबाहेक कुनै पनि रकम विनियोजन नभएकाले आयोजना कार्यालय नै ठप्प भएको छ ।’ आयोजना कार्यालयको पत्राचारपछि विभागले १५ करोड स्वीकृत गरी अर्थ मन्त्रालयमा फायल पठाएको आयोजना प्रमुख रावलको भनाइ छ ।
यो फास्ट ट्य्राक निर्माणको जिम्मेवारी संघ सरकारले २०७५ मंसिर ४ गते प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । तर त्यसको अढाई महिनामै संघ सरकारले माघ २१ गतेको मन्त्रिपरिषद्को निर्णयबाट यस आयोजनालाई संघ सरकारकै मातहत रहने गरी फिर्ता लिने निर्णय गरेको थियो । चालु आर्थिक वर्षमै पनि फेरि केही समय प्रदेशमा आएको र अहिले पुनः संघमै गएको आयोजना कार्यालयका प्रमुख लक्ष्मण रावलले बताए । हरेक पटक चुनावी नारा बन्दै आएको धनगढी दिपायल फास्ट ट्य्राकको ०६४ देखि काम सुरु भएको थियो ।
यो फास्ट ट्य्राक अहिले चालु रहेको धनगढी–डडेल्धुरा हुँदै दिपायल जानुपर्ने बाध्यता रहेको विकल्पहीन सडकको दूरीभन्दा आधा छोटो छ । आयोजना कार्यालयका अनुसार निर्माणाधिन द्रुत मार्गको दूरी धनगढीदेखि दिपायलसम्म ९५ किलोमिटर छ । तर अहिले सञ्चालित एक मात्र धनगढी–डडेल्धुरा–दिपायल सडकको लम्बाइ १९२.४ किलोमिटर छ ।
निर्माणाधीन धनगढी–दिपायल फास्ट ट्य्राकलाई हाल रहेको धनगढी–डडेलधुरा–दिपायल सडकको वैकल्पिक राजमार्गका रूपमा निर्माण सुरु गरिएको हो । यसबाट कैलाली, डोटी, अछाम र बाजुरा जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुन्छन् । हाल डोटी, अछाम र बाजुरा आवतजावत गर्नेहरूले डडेल्धुरा हुँदै जानुपर्ने बाध्यता छ । कान्तिपुरबाट