काठमाडौं। कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण अवरुद्ध बझाङको खोड्पे–चैनपुर सडक अझै सुरु हुन सकेको छैन। सो सडक कात्तिक ७ गतेदेखि अवरुद्ध रहेको छ। सडक विभागका अनुसार सो सडक पूर्ण रुपमा सुरु हुन महिना दिनभन्दा बढी लाग्ने छ।
सडक विभागका महानिर्देशकका अनुसार जालीबगरमा र नारुगाड खण्डमा सडक कटान गरेर नदी बगिरहेको छ। सो सडक बझाङ सदरमुका जोड्ने सडक भएकोले जालीबगरमा स्थानीय सडक जोडिएको हुनाले त्यसलाई चौडा गरेर साना सवारी चलाउन सुरु गरिएको छ। अवको केही दिन भित्रमा साना गाडी सदरमुकामसम्म पुग्ने उनको भनाइ रहेको छ। ठूला सवारी चल्न भने समय लाग्ने बताएका छन्।
त्यस्तै, नारुगाड खण्ड भने पाँच दिनभित्रमा खुल्नेगरी काम भइरहेको महानिर्देशकले बताएका छन्। मनाङ जोड्ने सडक पनि जसोतसो खुलाइएको छ भने बाजुरा जोड्ने सडक खुल्ने र बन्द हुने भइरहेको छ। त्यस्तै इलाम बजारको एक खण्ड सडक अझै बन्द रहेको छ। उक्त ठाउँको सडक खुल्न अझै एक–डेढ महिना लाग्ने छ। इलाममै स्थानीय सडक प्राय सबै ठप्प रहेका छन्।
इलाम र पाँचथरमा मात्र अहिलेसम्म बाढी पहिरोले पुल र सडकमा २२ करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको छ। त्यस्तै मेची राजमार्गको ठाउँ–ठाउँमा एकतर्फी मात्र सडक खुलेको छ भने पूरै सडकको पहिरो पन्छाउन एक हप्ता लाग्ने जानकारी गराइएको छ।
दर्जनौं ठाउँमा सडक तलबाटै चिरिएर गएको यी सबै सडकलाई पहिलाकै अबस्थामा ल्याउन एक बर्ष बढी समय लाग्ने सडक विभागका महानिर्देशकले बताएका छन्। सबैतिरबाट क्षतिको विवरण आउने क्रम जारी रहेको पनि उनले बताएका छन्।
क्षति संकलन भइरहेको छ, एकहप्ता भित्र देशभरबाट प्रारम्भिक क्षतिको विवरण आइ सक्ने बताएका छन्। बर्खा सुरु भएयता सडक र पुलमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । यो प्रारम्भिक क्षति अनुमान हो । सबैभन्दा बढी सडकमा क्षति भएको सडक विभागको आंकलन रहेको छ। मध्यपहाडी लोकमार्गको विभिन्न खण्डमा पहिरो खसेर सडक एकतर्फी मात्र सुचारु भएको छ।
त्यस्तै १८ वटा राजमार्गका २४७ स्थानमा पहिरो खसेको विभागको तथ्यांक रहेको छ। यसमध्ये एक ठउँमा अझै सडक अवरुद्ध भएको छ। १४६ स्थानमा एकतर्फी र सय स्थानमा मात्र दुईतर्फी सडक सञ्चालनमा रहेको छ। देशभर करिब १० किमि सडक बगाएको सडक विभागको प्रारम्भिक अनुमान छ। २५ वटा पुलमा क्षति भएको मध्ये १५ वटा निर्माण सम्पन्न भई हस्तान्तरण भएका र १० वटा पुल निर्माणाधीन रहेका छन्।