बागलुङ। नियमित काम भएको भए २०७५ मा मध्यपहाडी लोकमार्गको अक्षेते घोडाबाँधे सडक कालोपत्र भइसक्थ्यो । तर निर्माण कम्पनीले पेटी ठेकेदारमार्फत काम लगाएर अलपत्र पारेका छन् ।
सूर्य कन्स्ट्रक्सनले सात वर्षअघि ठेक्का लिएर सहायक ठेकेदारका रूपमा श्रेष्ठ निर्माण तथा ढुवानी सेवालाई जिम्मा दिएको थियो । ढुवानी सेवा कम्पनीका प्रमुख रामकाजी श्रेष्ठ आधाभन्दा बढी काम नसकी भागेका छन् । उनले स्थानीयबाट समेत लाखौं रकम सापटी भन्दै उठाएर सम्पर्कविहीन भएका हुन् ।
उनी भागेपछि सडक निर्माणको काम त अलपत्र परेको छ नै, स्थानीयसमेत ठगिएको भन्दै चिन्तित बनेका छन् । ठेक्का लिएको १३ किमि सडक खण्डको ७ वर्षमा ७ किमि मात्रै कालोपत्र भएको छ । यतिबेला कालोपत्र गरिएको खण्ड पनि जीर्ण भइसकेको छ ।
निर्माण अलपत्र परेपछि हिउँदमा पनि खाल्डाखुल्डीले हैरान दिएको छ । ‘मध्यपहाडी लोकमार्ग भनेर के गर्नु धूलो र खाल्डाखुल्डीले हैरानी खेप्नुपरेको छ’ काठेखोला गाउँपालिका–६ का अध्यक्ष बृहस्पति कँडेलले भने, ‘राजमार्गमा ट्याक्सी लिएर हिँड्न सक्ने अवस्था छैन ।’
इनारपानी र ठूलोढुंगा खण्डमा हिलो र खाल्डा बढी छन् भने बिहुँपोखरा र रिजाल चोक खण्डमा कालोपत्र भत्केर धुलाम्य भएको उनले बताए । श्रेष्ठले २५ करोड रुपैयाँमा उक्त सडक ठेक्का लिएका थिए ।
श्रेष्ठ चेक बाउन्स मुद्दामा थुनामा परेको कम्पनीका लेखापाल टेकप्रसाद दाहालले बताए । उनका अनुसार श्रेष्ठ आएपछि मात्रै कामले गति लिनेछ । ‘विशेष कारणले उनी सम्पर्क बिहिन छन्, तर पनि कतिपय काम गरिरहेका छौं,’ उनले भने, ‘असार मसान्तभित्र काम सक्छौं ।’
कालोपत्र गर्ने सामग्री खरिद र ढुवानी गर्ने भन्दै श्रेष्ठले स्थानीयसँग १ लाखदेखि ७ लाख रुपैयाँसम्म सहयोग मागेको तर नतिरेको आरोप लागेको छ । ‘मबाट ३ लाख रुपैयाँ लगेर एक रुपैयाँ पनि फिर्ता गरेका छैनन्’ स्थानीय डिलकुमारी कँडेलले भनिन्, ‘खेती किसानी गरेर बसेका हामीबाट पैसा लगेर हराएका छन्, उनले काम गर्ने पत्यार लाग्दैन ।’
लगेको ऋण मात्र फिर्ता गरिदिए पनि राम्रो हुने उनले बताइन् । अर्का एक स्थानीयले ७ लाख रुपैयाँ लगेर कुनै लिखित भर्पाईसमेत नगरेको र फिर्ता पनि नगरेको गुनासो गरे । कर्मचारी र कामदारले खाएको खर्चको पनि ठेकेदारले हिसाबकिताब नगरेको एक होटल सञ्चालकले बताए । बिहुँको पोखरा बस्तीका अधिकांश घरबाट श्रेष्ठले रकम सापटी लगेर फिर्ता नगरेको गुनासो छ ।
दैनिक २ सय बढी सवारी गुड्दा घरबारीको तरकारी र सुन्तला धूलोले ढाकेको छ । ‘बारीको तरकारी पनि शुद्ध खान पाएका छैनौं,’ स्थानीय लालमाया पुनले भनिन्, ‘घरभित्रै धूलोले सास्ती खेपेका छौं ।’ यो सडकमा अहिले रुकुम पूर्व र पश्चिमदेखिका बस र अन्य सवारीसमेत गुड्न थालेका छन् । समयमा काम नसके ठेकेदारको नाम कालोसूचीमा राखेर कारबाही गर्ने मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।
‘हामीले कालोसूचीमा राखेर कारबाही किन नगर्ने भनेर पत्र पनि पठाइसकेका छौं, अन्तिम पटकको म्याद थपमा काम गरेर देखाउने प्रतिबद्धता आएको छ,’ भण्डारीले भने, ‘काम पूरा नभए कारबाही गरेर देखाउँछौं ।’
यो खण्डको काम पूरा हुनेमा भण्डारी स्वयं पनि विश्वस्त छैनन् । आयोजनाले लागत संशोधन गरेर पुनः ठेक्का दिने गरी आन्तरिक तयारीसमेत गरेको आयोजनाका एक कर्मचारीले बताए ।
५ वर्षअघि नै कालोपत्र भएको लोकमार्गको घोडाबाँधेदेखि गलकोट खण्डको २० किमि सडकमा बल्ल नाली बनाउन सुरु भएको छ । नालीबिनै कालोपत्र गर्दा यो खण्डका अधिकांश घुम्ती पहिरोले खसेका थिए । पहिरोले घरखेत समेत पुरेर जोखिम बनेको थियो । कालोपत्रको दोस्रो वर्षदेखि पहिरो खसेको र कतै सडकमै भ्वाङ परेका थिए । कान्तिपुरबाट