काठमाडौं। बुद्ध एयरले सुर्खेत विमानस्थलमा आईएफआर प्रविधि जडान गर्न सरकारसँग आग्रह गरेको छ। कम भिजिविलिटीमा पनि उडान भर्न सकिने हुँदा बुद्ध एयरले आईएफआर प्रविधि जडान गर्न आग्रह गरेको हो।
सुर्खेत विमानस्थलमा भिएफआर प्रविधिमा सञ्चालनमा रहेको छ । यस प्रविधिमा मौसम प्रतिकुल र ढिला हुँदा उडान रद्द हुने सम्भावना प्रवल रहन्छ ।
आईएफआर प्रविधि जडान भएमा साँझ राती पनि उडान भर्न मिल्ने हुँदा यात्रुलाई आफ्नो समय अनुकुल आउजाउ गर्न थप सहज हुनेछ।
आईएफआर प्रविधि र सुर्खेत विमानस्थललाई यात्रुमैत्री बनाउनका लागि नागरिक उड्डयन प्राधिकरण तदारुकताका साथ लागेको छ । यसमा प्रदेश तथा संघीय सरकारले पनि प्रभावकारी भूमिका निर्वाह गर्नका लागि बुद्ध एयरले अनुरोध गरेको छ ।
अहिले बुद्ध एयरले सुर्खेतबाट काठमाडौंको सिधा उडान सञ्चालन गरिरहेको छ । शुरुका दिनमा सानो जहाजबाट उडान सञ्चालन गरेको र पछि एटीआर–४२ जहाजबाट उडानलाई निरन्तरता दिएको थियो ।
एटीआर–४२ जहाजबाट उडान सञ्चालन भएपछि भाडादर केही सहज र सरल भएको थियो ।
नागरिक उड्डयन प्राधिकरणको अगुवाई र सहयोगमा बुध्द एयरले १६ डिसेम्बरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एटीआर–७२ जहाजबाट उडान सञ्चालन गरेको छ ।
ठूलो जहाजबाट उडान भर्दा भाडादर पनि थप सहज र सरल भएको बुद्ध एयरको भनाइ छ । यात्रुहरुको माग र अनुरोधलाई ध्यानमा राखी बुध्द एयरले २१ डिसेम्बरबाट अर्को उडान पनि भर्ने जनाएको छ ।
यसरी दिनको दुई उडानले यात्रुलाई त्यसैदिन आफ्नो कार्य सकि आउजाउ गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।