सिरहा। सिरहाको हुलाकी सडकअन्तर्गत कमला र गागन पुल निर्माणको माग गर्दै स्थानीयले धर्ना दिएका छन्। हुलाकी सडक संघर्ष समिति, सिरहा विकास मञ्च र नागरिक समाज सिरहाले पुल निर्माणको माग गर्दै जिल्ला प्रशासन कार्यालय सिरहा अगाडि धर्ना दिएको हो ।
हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादवको नेतृत्वमा सिरहा क्याम्पसका प्राध्यापक चन्देश्वर यादव, सूचना अभियानी परशुराम साह, सुरेन्द्र यादव लगायतले धर्ना दिएका हुन्।
भत्किएको कमला पुल र सुस्त गतिमा निर्माण भइरहेको गागन पुल निर्माण कार्य छिटो हुनुपर्ने उनीहरुको माग छ।
हुलाकी सडक अन्तर्गत पर्ने सिरहा–धनुषा जोडने कमला नदिको पुल २०७८ असार १७ मा आएको बाढीमा भासिएको थियो । सिरहा बसबिट्टा तर्फको दुई नम्बर स्पान पुल पनि सुस्त गतिमा निर्माण भएपछि धर्ना नै बस्नु परेको उनीहरुको भनाइ छ।
मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी राजमार्गमा पुल निर्माण नहुँदा जोखिमयुक्त यात्रा गर्न बाध्य छन् ।
चार सय ४० मिटरको कमला पुल बनाउन २०६८ असोज ३१ मा पप्पु कन्स्ट्रक्सन र लुम्बिनी बिल्डर्स निर्माण कम्पनीले संयुक्त रूपमा ठेक्का लिएका थिए। बाढीले भासिएको पुलको पुननिर्माण नहुदाँ अलपत्र अवस्थामा छ ।
सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ स्थित रहेको गागन खोलामा हीराचन रोशन कन्स्ट्रक्सन प्रालिमार्फत रोशन कन्स्ट्रक्सनले पुल निर्माणको काम गर्दै आएको छ । तीन वर्षमा निर्माण सकिने गरी २०७६ सालमा सम्झौता भएको थियो । तर, पुल निर्माणले गति लिन नसक्दा स्थानीय निरास भएका छन् ।