काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल सबस्टेसन सञ्चालनमा आएको छ। १३२ केभी सबस्टेसन सञ्चालनमा आएको हो।
स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि उक्त सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको हो। हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सवस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ ।
सवस्टेसन सञ्चालनमा आएसँगै उक्त क्षेत्रमा सञ्चालित स्टील, सिमन्टलगायतका उद्योगहरु तथा स्थानीय उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति पाएएको बताइएको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परासी क्षेत्रका सिमन्ट, स्टीललगायतका ठूला उद्योग र स्थानीय उपभोक्तालाई विद्युत आपूर्तिका लागि सुनवल सवस्टेसन मेरुदण्ड भएको बताए । “अहिले बुटवल सवस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी लाइनमार्फत आपूर्ति दिँदा सुनवल तथा परासी क्षेत्रका उपभोक्ताबाट पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको, पटक–पटक ट्रिपिङ हुन जस्ता गुनासा आउने गरेका थिए ।बुटवल सवस्टेसन पनि माग धान्न नसक्ने अवस्थामा पुगी ओभरलोडेड थियो” कार्यकारी निर्देशक घिसिङले भने ।
“सुनवल सवस्टेसन सञ्चालनमा आएसँग बुटवल सबस्टेसनको चाप घटेको छ । सुनवल तथा परासी क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय भएको भन्दै प्राधिकरणले उपभोक्ताहरुले मागेजति विद्युत पाउने छन् भने प्राविधिक चुहावटसमेत घट्ने जनाएको छ ।’ सवस्टेसनमा १३२।३३, ६३ एमभिएका दुई वटा र १३२।११ केभी,२२.५ एमभिएको एक वटा पावर ट्रान्सफर्मर रहेका छन् । सवस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि निकालिने ३३ केभीका ७ वटा फिडरमध्ये ३ वटा सञ्चालनमा ल्याइएको छ ।
३३ केभीका तीन वटा फिडरमध्ये एउटाबाट सर्वोत्तम सिमन्ट तथा परासी बजार क्षेत्र, अर्कोबाट पाल्पा सिमेन्ट तथा रुपन्देहीको शित्तलनगर सवस्टेसन र लक्ष्मी स्टीलमा विद्युत आपूर्ति दिइएको प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयले जनाएको छ।
औद्योगिक करिडोरमा विद्युत आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेट करिब ६९ करोड रुपैयाँमा सुनवल सबस्टेसन निर्माण गरिएको हो।