काठमाडौं। दाङको एकमात्र विमानस्थल तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब साताको पाँच दिन उडान हुने भएको छ । यसअघि सातामा तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदै आएको थियो ।
पछिल्लो समय आइतबार र मंगलबार पनि उडान भर्ने गरेको उनले बताइन् । हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको उनले जानकारी दिइन् । “यसअघि इन्धन डिपोबाट इन्धन हाल्न सुरु भएको थिएन, अब यहींबाट इन्धन हाल्न थालिएको छ,” उनले भनिन्, “त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको छ ।” यात्रुको चाप बढेमा प्रत्येक दिन हवाई उडान भर्ने गरी तयारी गरेको उनको भनाइ छ । साथै निजी हवाई सेवासँग पनि समन्वय गर्ने गरी तयारी गरेको उनले बताइन् ।
“नियमित भएमा हामीले निजी क्षेत्रका जहाज ल्याउने तयारी गरिरहेका छौं,” उनले भनिन्, “त्यसमा यात्रुको माग कस्तो आउँछ, त्यसमा भर पर्छ ।” केही दिन अघिदेखि विमानस्थलमा निर्माण भएको इन्धन डिपोबाट इन्धन भर्न थालिएको हो । अहिले नेपाल वायुसेवा निगमको १९ सिटे ट्वीन अटर जहाजले सेवा दिइरहेको छ । कुनै समय दैनिक दुई वटासम्म उडान भर्ने गरिएको भए पनि पछिल्लो समय हवाई सेवा घटेर तीन दिनमात्रै भएको थियो । यसले गर्दा यस क्षेत्रबाट हवाई सेवाका लागि भैरहवा र नेपालगन्ज जानुपर्ने बाध्यता थियो ।
अब यसलाई अन्त्य गर्न थप दुई दिन हवाई सेवा थपिएको छ । योसँगै अब पाँच दिन हवाई उडान भइरहेको छ । अहिले पाँच दिन सुरु भएको हवाई सेवा यात्रु भएमा दैनिक उडान हुने नेपाल वायुसेवा निगमका तुलसीपुर शाखा इन्चार्ज महेन्द्र शर्माले जानकारी दिए । “यात्रु भएमा दैनिक हवाई सेवा सञ्चालन हुनेछ,” उनले भने । यात्रु नहुँदा नियमित हुन नसकेको उनले बताए । यात्रुको कारणले पनि समस्या हुने उनी बताउँछन् ।
विमानस्थलको धावनमार्ग विस्तारका लागि प्रक्रिया अगाडि बढेको छ । अहिलेको धावनमार्ग ७ सय ५० मिटर लम्बाइ रहेको भन्दै यसलाई बढाउनका लागि इन्जिनियरको टोली आएको उपप्रमुख चौधरीले बताइन् । “इन्जिनियरकोे टिम आएर डीपीआरका लागि सबै हेरेर गइसकेको छ,” उनले भनिन् । विमानस्थल विस्तारका लागि पहल गर्न तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति गठन गरेको छ ।
सोही समितिले अहिले आफ्ना गतिविधि अगाडि बढाएको छ । वि.सं २०११ सालमा घासे मैदानमा हवाई सेवा सुरु भएको यो विमानस्थलमा पछिल्लो समयमा धावनमार्गको लम्बाइ कम भएको भन्दै निजी कम्पनीले उडान भर्न मानिरहेका छैनन् । कहिले चल्दै त कहिले बन्द हुँंदै आएको यो विमानस्थलमा पछिल्लो समयमा नेपाल वायु सेवा निगमको एउटा जहाजले मात्रै सेवा दिँंदै आएको छ । यसअघि पनि नेपाल वायु सेवा निगमले यो विमानस्थलमा सेवा दिँदै आएको थियो । कारोबार दैनिकबाट